सिंहदरवार, चाकडी र भ्रम

दुई दशकअघिको कुरा हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले भर्खरै (२०५६) जननिर्वाचित प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका थिए । 

प्रधानमन्त्री कार्यालयको ‘ब्रिफिङ’ सकिएकै थिएन । दिनहुँ भेट्न आउनेहरुको घुइँचो । तिनलाई भेट्दैमा प्रधानमन्त्री थाकिहाल्थे । कामका बारेमा सोच्ने फुर्सदै नहुने । मान्छे भेट्दा भेट्दा थकाइले भुतुक्क भएर सुती हाल्नुपर्ने । उमेरले पाका प्रधानमन्त्रीको कार्यकक्षसँगैको एउटा कोठामा आरामका लागि बिस्तरा पनि राखिएको थियो । बिहान  सिंहदरबार जाने र खाना खाएपछि एक छिन आराम गर्ने बानी थियो उनको । एक दिनको कुरा हो राजनीतिक सल्लाहकार डा. नारायण खड्का हस्याङफस्याङ गर्दै प्रधानमन्त्रीको शयन कक्षमै पुगे । त्यस दिनको घटना डा. खड्काले लेखकलाई यसरी सुनाएका छन् । 

खड्का : किसुनजी ! हजुर आराम गर्दै हुनुहुन्छ । म हजुरलाई डिस्टर्ब गर्न चाहन्न तर बाहिर भेट्न चाहनेहरुको घुइँचो लागि सक्यो । तैँले भेट्न दिइनस् भनेर मलाई त हायल कायल बनाउन थाले । 

किसुनजी : अरे बाफ रे नारायणबाबु ! तपाईँलाई हायल कायल पो पारे । 

खड्का : हो किसुनजी ! तिमीले प्रधानमन्त्रीलाई भेट्न दिएनौ भन्दैछन् । हजुर उठ्नु पर्‍यो । भेट्नु पर्‍यो । बाहिर मानिस अट्ने ठाउँ नै बाँकी छैन । 

प्रधानमन्त्री भट्टराईको कुरा सुनेर डा. खड्का छक्क परे । धरैपछि मात्र उनलाई आफ्ना नेताले किन त्यसो भनेका रहेछन् भन्ने थाहा भयो । खड्काले लेखकलाई सुनाए ‘म क्यानडामा पढेर आएको मान्छे । सकेसम्म सबैलाई भेटाउन प्रयास गर्थेँ । तर, किसुनजीको कुरा सुने पछि छक्क परेँ । उहाँले भन्नु भयो– हेर्नुस् यहाँ भेट्न आउनेहरु प्रायः सबै केही न केही माग्नमात्र आएका हुन्छन् । देश कसरी बनाउने ? के गर्ने भनेर सल्लाह दिने कोही हुँदैन । मानौँ एक छिनलाई मैले आराम गर्न छोडेर उनीहरुलाई भेटेँ रे । देशलाई के फाइदा हुन्छ ? प्रायः सबै केही न केही मागेर ममार्फत देशको ढुकुटी रित्याउन खोज्नेमात्र न हुन् । बरु नभेट्यो । खत्तम । देशको ढुकुटी त जोगिन्छ ।

व्यंग्य चेतका धनी भट्टराईमा औसत राजनीतिक नेताहरुभन्दा अन्तरआत्माको आवाज सुनेर अघि बढ्ने दुर्लभ गुण त थियो नै राजनीतिक बजार र मिडियामा हुने आलोचनाको पटक्कै डर थिएन । 

सिंहदरवार त्यस्तो ठाउँ हो जहाँ चाकरी, चाप्लुसी गरेर स्वार्थ पूरा गराउन चाहनेहरुको कहिल्यै कमि रहेन । राणा प्रधानमन्त्री चन्द्रशमशेरको निजी निवास सिंहदरबार झन्डै तीन दशकसम्म उनले प्रयोग गरे । अन्त्यमा जो प्रधानमन्त्री हुन्छ उसैले प्रयोग गर्न पाउनेछ भन्दै सरकारी पैसाले बनाएको दरबार महाराज चन्द्रशमशेरले सरकारलाई नै बेचिदिए । 

राणाकालमा चाकरी प्रथा चरममा थियो । प्रधानमन्त्री र शक्तिशाली राणाजीको ढोका चोटा चहार्नेले मात्र राज्यको सुखसुविधा पाउँथे । रैती दाससरह थिए । प्रधानमन्त्रीको निवास सरेपछि सिंहदरबार चाकरीको स्थायी थलो बन्यो ।  

Leave a Reply