भक्तजन न्यून देवघाटमा सतबीज छर्ने

भरतपुर / आज बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् । कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन क्षेत्र विकास समितिले आग्रह गरेको थियो ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले गत वर्षको अनुपातमा आज २० देखि २५ प्रतिशत मात्र भक्तजन देवघाटमा सतबीज छर्नका लागि आएको बताए । उनले आएका भक्तजनका लागि बिजुलीबत्ती, पानी र सुरक्षाको व्यवस्था गरिएको जानकारी दिए । सरकारले नै मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम राखेको उल्लेख गर्दै उनले बालाचतुदर्शी पनि घरमै बसी मनाउन आग्रह गरिएको बताए ।

बालाचतुर्दशीका दिन प्रत्येक वर्ष देवघाटमा सतबीज छर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सतबीज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताए । उनले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताए ।

Leave a Reply