दलाल पाल्न श्रमिकलाई ठग्ने ?

कुमार दाहाल वैदेशिक रोजगार विभागका महानिर्देशक हुन् । पछिल्लो १० महिनादेखि उनी यो पदमा आसिन छन् ।  कोभिड १९ महामारी सुरू हुँदा दाहाल भर्खरै विभागको महानिर्देशक बनेका थिए । विश्वव्यापी महामारी कोभिड १९ रोगले अर्थतन्त्र सिथिल बनाएसँगै वैदेशिक रोजगारी पनि यसबाट ग्रसित बनेको थियो ।

तर, परिस्थिति सामान्य बन्दै जाँदा वैदेशिक रोजगारीका यावत् समस्या देखिन थालेका छन् । यसैबीचमा विभागले रोजगार व्यवसायीका कार्यालय छापा मार्‍यो । वैदेशिक रोजगारीमा देखिएका समस्या विभाग वा कामदारसँगै रोजगार व्यवसायी पनि हुन् । जसको उदाहरण हालै चर्चामा आएको ‘भिजिट भिसा’ हो । आज हामीले वैदेशिक रोजगारीलाई नियमन गर्ने निकाय वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, बाह्रखरीका सुरेन्द्र बजगाईंले गरेको वार्ताको सम्पादित अंशः

विश्वव्यापी महामारीको रुपमा फैलिएको महामारी कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र शिथिल बन्दा ‘वैदेशिक रोजगारी’ टाढा रहन सकेन नि !

नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम वि.सं. २०५० अघिदेखि नै सुरू भएको हो । कोरोनाको महामारीभन्दा अगाडिसम्म यो कायम रह्यो । तर, कोरोनाले यो क्रमलाई ठप्प बनायो । नेपालबाट भारतसहित वैदेशिक रोजगारीमा जानेको संख्या ४५ लाख भन्दा बढी छ । पछिल्लो आर्थिक वर्षको तथ्यांकले वैदेशिक रोजगारीका कारण करिब ८ खर्ब रुपैयाँबराबर रेमिट्यान्स नेपाल भित्रिएको देखाउँछ ।फागुनको अन्त्यदेखि नै विदेश गएका नेपाली श्रमिकलाई धेरै नै मर्का पर्‍यो । रोजगारी गुमाएका कामदार समेत सहज रुपमा स्वदेश फर्कन पाएनन् । तर, भदौको १४ गतेबाट सबै प्रकारका नीतिगत काम सुरु भएको छ । अहिले त नियमित जस्तै काम भएको मान्न सकिन्छ ।

वैदेशिक रोजगारीका नाममा हामी जहिले ‘लेबर’ मात्र पठाउने । दक्ष तथा प्राविधिक जनशक्ति कहिले पठाउने त ?

शिक्षित र काम जानेका मान्छेहरु व्यक्तिगत प्रक्रिया पूरा गरेर युरोप र अमेरिका जान खोज्दा रहेछन् । दक्षहरु नेपालबाट अनेक प्रकारको छनौट पार गरेर जाने रहेछन् । पढाई नभएका, बेरोजगार युवा धेरै जाने भएकाले वैदेशिक रोजगारीमा ‘लेबर’ मात्र गएको जस्तो देखिएको हो । हामी लेबर वा अदक्षमा भन्दा पनि अर्धदक्ष र दक्ष बनाएर पठाउने योजनामा छौँ । त्यसको लागि हामीले सीपमुलक तालिमलाई व्यवहारिक बनाउँदै छौँ ।

अन्त्यमा, वैदेशिक रोजगारीलाई थप सरज, सहज, प्रभावकारी बनाउने विभागको कार्ययोजना के छ ?

हामीले १२–१३ सयवटा वैदेशिक रोजगारीसँग जोडिएका संघ–संस्थालाई नियमन गर्छौं । बेलाबेला अनुगमन गर्ने, अप्ठेराहरु फुकाउने काम पनि हाम्रै काँधमा छ । कामदारहरुको हितमा धेरै भन्दा धेरै काम गर्नु हाम्रो दायित्व हो । शून्य सहनसिलता अपनाएर सबै प्रकारका उजुरी लिने र ती उजुरीहरुलाई छानबिन गरेर दोषीलाई कारबाही गर्ने अर्थात् ठग्ने र ठगिने प्रवृतिलाई अन्य गर्ने मेरो बाँकी कार्यकालको कार्ययोजना हो ।

Leave a Reply