‘परदेशी २’ को छायांकन अन्योलमा

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि चैत पहिलो साताबाट देशभर लकडाउन घोषणा गरेपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको छायांकन सात महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन । महामारी फैलिनुभन्दा अगाडि फिल्म ‘परदेशी २’ को पोखरामा छायांकन भइरहेको थियो । फिल्मको ५० प्रतिशतभन्दा बढी सिन अझै खिच्न बाँकी छ ।

निर्देशक नारायण रायमाझीले ‘परदेशी २’ को दशैंअघि छायांकन थाल्ने तयारी गरेका थिए रहेका । कलाकारहरुले केही दिन वर्कसप पनि गरे । तर, अहिलेसम्म यो फिल्मको छायांकन सुरु हुन सकेको छैन ।
अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिकामा रहेका कारण फिल्मको छायांकन थप अन्योलमा परेको छ ।

सबै कुरा सहज भयो भने सुटिङ थाल्ने तयारी भइरहेको छ । निर्देशक रायमाझीले अहिले आफू पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले भने( ‘सुटिङका लागि अनुकूल समयको प्रतिक्षामा छौं । दशैंअघि छायांकनमा जान सकिन्छ कि भनेर वर्कसप र लोकेशन हेरेका थियौं । तर, सुटिङमा निस्कनका लागि अनुकूल मिलेको छैन । अवस्था सहज भएपछि सुटिङ थाल्नेछौं ।’

फिल्मको महत्त्वपूर्ण सिन अमेरिकामा खिच्नु पर्नेछ । तर, कोरोनाका कारण अमेरिकाको सिन नेपालमै खिच्ने वा अमेरिका नै जाने भन्नेमा निर्माण टिम दोधारमा छ । ‘विदेशको सिन नेपालमा खिच्न मिल्ने खिचिसकेका छौं । विदेशमा खिच्नै पर्ने सिनका लागि समय हेर्दैछौं,’ निर्देशक रायमाझीले फिल्मीखबरसँग भने । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष फिल्ममा देखाइनेछ ।

‘परदेशी २’ बाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । फिल्ममा उनीसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । यो फिल्मलाई यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, कोरोनाका कारण न फिल्मको छायांकन पूरा हुन सक्यो न त निर्धारित मितिमा प्रदर्शनमा नै आयो ।

Leave a Reply