लिभरपुलको जित उपहार ९ महिनापछि एनफिल्ड फर्किएका समर्थकलाई

नेप्लेज । गएको मार्चपछि पहिलोपल्ट एनफिल्ड फर्किएका समर्थकलाई प्रिमियर लिगको साविक विजेता लिभरपुलले वोल्भरह्याम्प्टनमाथि ४-० गोलको प्रभावशाली जित उपहार प्रदान गरेको छ ।

वोल्भ्सका डिफेन्डर कोनर कोडीले जोर्डन हेन्डरसनको लामो प्रहार अनुमान लगाउन नसकेपछि त्यसको फाइदा उठाउँदै मोहम्मद सलाहले पहिलो हाफमा लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा लिभरपुलले ३ गोल थप्यो । ५८ औं मिनेटमा जोर्जिनियो विज्नाल्डमले गोल गरे । ६७ औं मिनेटमा जोय माटिपले हेडमार्फत तेहेरो अग्रता दिलाएका हुन् । ७८ औं मिनेटमा नेल्सन सेमेडोले आत्मघाती गोल गर्दा लिभरपुल ४-० ले विजयी भयो ।

वोल्भ्स घरेलु टोलीको तुलनामा निकै नै कमजोर देखिएको थियो । तर पहिलो हाफमा रेफ्री क्राइग पासोनले पेनाल्टीको अवसर दिएपछि उनीहरुको आशा बढेको थियो । रेफ्रीले साडियो मानेले लिभरपुलकै पूर्व खेलाडी कोडीलाई फल गरेको भन्दै पेनाल्ट दिए पनि भिडियो असिस्टेन्ट रेफ्री भारले रद्ध गरिदिएको थियो ।

लिग लिडर टोटनह्यामसँग समान २४ अंक भए पनि गोलअन्तरमा पछि पर्दै लिभरपुल अंकतालिकाको दोस्रो स्थानमा छ । टोटनह्यामले आइतबार राती नै आर्सनललाई २-० ले हराएको हो ।

वोल्भ्स भने दशौं स्थानमा छ । तर छैटौं स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंक कम छ ।

Leave a Reply