बार्सिलोनाले मेस्सीको पनि तलब समायोजन गर्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक संकट बढेपछि तलब समायोजनका लागि कप्तान लिओनेल मेस्सीसहित सिनियर टोलीका सदस्यसँग छलफल गर्ने भएको छ ।

क्लबको व्यवस्थापन कमिसनका अध्यक्ष कार्ल्स टुस्केट्सले यसपटक मेस्सीलाई पनि अन्य खेलाडीझैं समायोजनमा समावेश गरिने बताए ।टुस्केट्सका अनुसार खेलाडीसँग समायोजन छलफल गर्न सम्भव पनि देखिन्छ । ‘मलाई लाग्छ हामी सहमतिमा आउन सक्छौं । सबैले हाम्रो प्रस्तावमा सहमति जनाउनेछन् भन्ने आशा छ । हामी कसैको पैसा लिन लागेका हैनौं, मात्र अहिलेको अवस्थालाई मध्यनजर गर्दै पछि सम्भव भएको बेलामा तिर्न लागेका हौं । अहिलेको कठिन अवस्थामा यो नै उत्तम विकल्प हो,’ टुस्केट्सले भने ।

‘हामी उस्तै अवस्थाका खेलाडीलाई विभिन्न विकल्प दिन सक्छौं ।हामी मेस्सीका लागि मात्र फरक व्यवस्था ल्याउन सक्दैनौं । । मेस्सीलाई नै लक्षित गरेर मैले केहि भन्दिन तर उनको प्रतिनिधिबाट पनि यस विषयमा सकारात्मक छलफल भएको छ ।’

‘हामी खेलाडी मात्र नभएर अन्य स्टाफ र कर्मचारीको पनि तलब समायोजन गर्न लागेका छौँ । हामी आफूले सकेको राम्रो र सबैलाई सन्तुष्ट पार्ने हिसाबले अघि बढ्नेछौं ।’

‘बार्सिलोना युरोपमै सर्वाधिक तलब दिने क्लबमा पर्छ । अहिलेको अवस्थामा हामीले युवा खेलाडीलाई प्राथमिकतामा राखेर अघि बढ्दा क्लबलाई आर्थिक रुपमा पनि सहयोग पुगेको छ । यसका लागि मैले प्राविधिक निर्देशक रामोन प्लानेस, मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान र कार्यकारी अधिकृत ओस्कार ग्राउलाई बधाई र धन्यवाद दिनुपर्छ । युवा खेलाडीकै भरमा क्लब चलाउनु सहज विषय होइन ।’

‘क्लबको सम्पूर्ण बजेटको ७० प्रतिशत तलबमा नै खर्च हुन्छ । यो निकै ठूलो रकम हो । यसलाई ठिक पार्न हामी लागिरहेका छौं ।’

बार्टोमेउको राजिनामापछि टुस्केट्सले कार्यवाहक बोर्डको नेतृत्व गरिरहेका छन् । उनको अनुसार वर्षको अन्त्यसम्म क्लबले नयाँ अध्यक्ष पाउनेछ । तर त्यसका लागि स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै र क्लबको विधानको पनि सम्मान गर्नुपर्ने उनी बताउँछन् ।

Leave a Reply