हुटहुटी युवाहरूमा पढ्ने पढाउने

पोखरामा भइरहेको आईएमई लिटरेचर फेस्टिभलमा ‘पढ्ने र पढाउने हुटहुटी’ शीर्षक तोकिएको सत्रमा इटहरीका बिकेश कविन, कपिलवस्तुका हरि खनाल र काठमाडौंकी मनुश्री महत सहभागी थिए । उनीहरू सबै विद्यार्थी हुन् ।  पोखरामा भइरहेको नवौं संस्करणको आइएमई लिटरेचर फेस्टिवलमा पठन संस्कृतिको विकासका लागि के, कस्तो पहल गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । 

मान्छे थुप्रै भ्रम, सीमितता र संकिर्णतासाथ बाँचिरहने भएकाले यसबाट बाहिरिन पठन आवश्यक रहेको बिकेशको भनाई थियो । ‘लेखक हुनलाई पाठक हुनैपर्छ ।’ आफूले कविता, निबन्ध र संस्मरण लेख्दै आएको बताउँदै उनले भाषिक सौन्दर्य, र शब्द भण्डार बढाउनका लागि पढ्नै पर्ने तर्क गरे । उनले भने ‘पठनका बेला हामीभित्रको हामीसँग हुन्छौं । स्वान्त सुखायको अवस्थामा पुग्छौं ।’

“आफू बाच्नुको सम्बन्ध आफूसँग मात्रै हुँदैन,” हरिले भने, “वृक्षले फल उत्पादन गर्छ तर त्यो फल आफू खाँदैन । मैले पनि आफू मात्र पढ्न चाहिनँ । अरुलाई पढाएर, किताबको साहराले आनन्द बटुलिरहेको छु । विवेकानन्दका अनुसार खाना दिए केही घण्टालाई, वस्त्र दिए केही महिनाको लागि, ज्ञान दिए जीवन्त रहन्छ ।”

हरिझैं बिकेशले पनि ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुपमार्फत् अन्यलाई पढ्न पे्ररित गर्दै आएका छन् । सन् २०१७ सालमा ग्रुप सुरु गरेका उनी हाल डेढ सय टपिकका लेख–रचना जम्मा पारेर त्यसको संग्रह गर्दैछन् । “आजभन्दा १०–२० वर्षअघिका लेखहरू खोज्ने मान्छे टन्नै छन्,” उनले भने, “कसैले मागेमा हामीसँग भएका ईं–लेख उपलब्ध गराउन सक्छौं ।”

आफूले झैं पठनको रुची सेयर गर्ने दुई–तीन जनामात्रै साथी भएको मनुश्रीको भनाइ थियो । उनीहरूसँग कुराकानी गर्न खूब रमाइलो लाग्ने उनले बताइन् । कोर्सबाहिरका किताब खासै नपढ्ने साथीहरूलाई उनी विभिन्न पुस्तक र तिनका पात्रबारे बताएर पठनमा उत्साहित गराउन खोज्दी रहिछन् । 

कक्षा १० की छात्रा मानुश्रीले कोर्स बाहिरको किताब पढ्दा मान्छेहरूले खिसी गर्ने गरेको बताइन् । “तर, बाहिरको किताब पढ्दा कोर्समा नभएको कुरा थाहा हुन्छ,” उनले भनिन्, “आख्यान पढ्दा अर्को मान्छेको जीवन बुझिन्छ, उनीहरूमार्फत् समाजका अन्य मानिसको भावनाहरू बुझिन्छ । गैर–आख्यान रियल लाइफको अनुभव, अप्स एन्ड डाउन्स बुझिन्छ । हाम्रो प्रस्पेक्टिभ नै ब्रोड हुन्छ ।”

Leave a Reply