देउवालाई चौतर्फी दबाब

ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मात्र होइन, अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावादउन्मुख भनेको कांग्रेसबाट धेरैको अपेक्षा थियो, अर्को दिनदेखि नै असंवैधानिक कदम सच्याउन दबाब दिनेछ ।सभापति शेरबहादुर देउवाले ६ पुसमा प्रतिनिधिसभाका प्रमुख दल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीलाई आफ्नै पार्टी कार्यालय सानेपामा डाके । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको साझा धारणा तय गरे । सबैले अर्को दिन केन्द्रीय समितिबाट निर्णय गरेर त्यसका विरुद्धका रणनीतिमा प्रवेश गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सबैभन्दा पहिले ओलीको कदमका विषयमा औपचारिक टिप्पणी गर्ने पार्टी थियो, नेपाली कांग्रेस ।

चार दिनसम्म लगातार छलफल हुँदा सभापति देउवा पक्ष निर्वाचन प्रतिपक्षका लागि अवसर भएको भन्दै त्यसको सुनिश्चितताका लागि लाग्नुपर्ने पक्षमा उभियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ‘प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने, अस्थिरताको नयाँ शृङ्खला रोकेर कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आन्दोलनको बाटो रोज्नुपर्ने’ पक्षमा उभियो ।

नेपाली कांग्रेसको जीवनमा छुट्टै महत्व बोकेको पुस १६ विवादका बीचमा पनि राष्ट्रिय शक्तिहरुबीच सहकार्य र मेलमिलापको दिनका रुपमा चिनिन्छ । भारत निर्वासनमा रहेका बीपी कोइराला आफूविरुद्ध आठवटा फाँसी हुनसक्ने मुद्दा हुँदा–हुँदै नेपाल फर्किएर सुरु गरेको राष्ट्रिय मेलमिलाप दिवसमा आन्दोलन गर्न हुँदैन भन्ने बहस चल्दा–चल्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस ब्रिफिङ गरेर ‘१६ गते कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने’ सार्वजनिक गरिसकेका थिए ।

पछि नेताहरुबीच भनाभनबाट सभापति सहमत भएपछि प्रवक्ता शर्माले ‘१६ गते देशभर मेलमिलाप दिवसका कार्यक्रम गर्ने’ भन्दै सच्याएर विज्ञप्ति जारी गर्नुपरेको थियो । त्यसबेलासम्म कांग्रेसमा सभापति देउवा आन्दोलनमा जान तयार नभएको विषय छरपष्ट भइसकेको थियो ।

देउवा पक्षले त्यसलाई कमजोर पार्न ‘पौडेल नेकपा नेताहरु प्रचण्ड र माधव नेपालसँगको भेटपछि राष्ट्रपति बन्ने लालचमा परेर उनीहरुको एजेन्डामा फसेको’ आरोप लगायो । कांग्रेसभित्र लगातार तीन दिन छलफल गर्दा पनि बहस अनिश्चिततातर्फ मोडिएपछि कांग्रेसमा गरमा–गरम बहस भयो ।

Leave a Reply