दुई महिनामै कोरोनाले मृत्यु हुनेको संख्या तेब्बर पुग्यो,

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको सरकारी तथ्यांकले देखाएको छ । मृत्युदर भने बढेको छ । पछिल्लो दुई महिनामा नेपालमा कुल संक्रमित र सक्रिय संक्रमितको संख्या निकै घटबढ भएको छ । तर, मृत्यु हुनेको संख्या भने लगभग उस्तै छ । संक्रमण दर घट्नु तर मृत्युदरमा कमी नआउनुमा विज्ञहरुले प्रश्न उठाइरहेका छन् । सरकारले परीक्षणको दायरा खुम्च्याएको उनीहरुको ठहर छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने परीक्षण संख्यामा कमी भए पनि प्रतिशतमा संक्रमित दर घटेको दाबी गर्छन् । विश्व स्वास्थ्य संगठनले संक्रमितको निको हुने अवधि र मृत्युदरका आधारमा कोरोना नियन्त्रणमा कुन देश कति सफल भन्ने मापन गर्ने गरेको छ ।

यस्तो छ, दुई महिनाको तथ्यांक 

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ३६ हजार ८०८ छ । सोमबारसम्म नेपालको कुल जनसंख्याको ०.८३ प्रतिशतलाई कोरोना संक्रमण भइसकेको छ । निको हुनेको दर ९३.७० प्रतिशत छ भने मृत्युदर ०.६६ प्रतिशत छ । अक्टोबरको पहिलो साता दैनिक ११ हजार ४७ जनाको ‘पीसीआर’ परीक्षण भएको थियो । जसमा एक हजार ५५१ जना संक्रमित हुँदा नौजनाको मृत्यु भएको तथ्यांक छ । 

यो कुल संक्रमितको ०.६ प्रतिशत हो । त्यतिबेलासम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६३ थियो  । अक्टोबरको अन्तिम साता निको हुनेको दर ७४.४ प्रतिशतमा झर्‍यो । सक्रिय संक्रमितको दर बढेर २५.६ प्रतिशत पुग्यो । मृत्युदर भने घटेर ०.५ मा आइपुगेको मन्त्रालयको तथ्यांक छ । नोभेम्बर पहिलो साताको तथ्यांकानुसार सक्रिय संक्रमितको दर घटेर २१.३ प्रतिशत पुगेको छ । तर, मृत्युदर बढेर ०.६ प्रतिशत पुगेको देखिन्छ ।

नोभेम्बरको अन्तिम सातासम्म लगभग उस्तै रहेको तथ्यांक डिसेम्बर पहिलो साता आइपुग्दा मृत्युदर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथांकले देखाउँछ ।

सोमबारको मन्त्रालयको तथ्यांक हेर्दा एक हजार १४ जनामा संक्रमण पुष्टि हुँदा २० जनाको मृत्यु भएको छ । यसरी हेर्दा दुई महिनाको अवधिमा मृत्यु हुनेको संख्या तेब्बरले बढेको देखिन्छ । अर्थात् पछिल्लो समय कोरोनाका कारण औसतमा दैनिक १६ जनाले ज्यान गुमाइरहेको पुष्टि हुन्छ ।

नेपालजस्तै जनसंख्या भएको श्रीलंकाले कसरी नियन्त्रण गर्‍यो कोरोना ? 

नेपालको जनसंख्यासँग मिल्दोजुल्दो मुलुक श्रीलंका भने कोरोना महामारी नियन्त्रणमा नेपालभन्दा निकै अगाडि देखिन्छ । त्यहाँको कुल जनसंख्या दुई करोड १४ लाख १३ हजार २४९ मध्ये २७ हजार ८७७ जनामा संक्रमण पुष्टि भएको छ । श्रीलंकामा अक्टोबरको पहिलो साता ०.४ प्रतिशत संक्रमित थिए ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयअन्तर्गत हेल्थ प्रमोसन ब्यूरोले कोभिड नियन्त्रणमा श्रीलंका सरकारको सफलताबारे तयार पारेको एक भिडियोअनुसार नोभेम्बरको पहिलोसाता श्रीलंकामा सक्रिय संक्रमितको संख्या उच्च दरले बढेको थियो । तर, सक्रिय संक्रमितको दर ५७. ५ प्रतिशत हुँदा पनि मृत्युदर भने ०.२ प्रतिशतमात्रै छ ।
त्यस्तै, डिसेम्बर पहिलो साता सक्रिय संक्रमितको दर २७.५ हुँदा पनि मृत्युदर भने ०.५ प्रतिशतमात्रै छ ।

नेपालजस्तै श्रीलंकामा पनि २०२० अप्रिल १८ सम्म कोरोनाको ‘केस’  समुदायस्तरमा देखिएको थिएन । जब चीनबाट कोरोना संक्रमण अन्य देशहरुमा फैलिएका समाचारहरु आउन थाले, श्रीलंका सरकारले सम्भावित जोखिमबारे सम्बन्धित सबै निकायहरुसँग छलफल गरी रेस्पोन्स टिम तैनाथ गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गर्नसाथ त्यहाँ विदेशबाट भित्रिनेहरुको ‘कन्ट्याक ट्रेसिङ’ सुरु गरिएको थियो । श्रीलंकामा ९ मार्चमा पहिलो कोरोना संक्रमणको केस भेटिएको थियो । पहिलो केस देखिनेबित्तिकै शैक्षिक संस्थाहरु बन्द गरिएको थियो । खाद्यान्न र औषधिजस्ता सामग्री घरमै पुर्‍याउने व्यवस्था गरियो । श्रमिक वर्गलाई श्रीलंका सरकारले सामाजिक सुरक्षा भत्ता घर–घरमै पुर्‍याएको थियो ।  अप्रिलदेखि जब त्यहाँ संक्रमितको संख्या बढ्दै गयो, क्वारेन्टिन र उपचार सेवामा जोड दिइयो ।

श्रीलंकामा यही कोभिड अवधिमा मात्रै १६ वटा नयाँ अस्पतालहरु निर्माण गरिए । पीसीआरबाहेकका अन्य परीक्षणलाई मान्यता दिइएन । श्रीलंका सरकारले निःशुल्क पीसीआर र उपचारको व्यवस्था गर्‍यो । सोमबारसम्म श्रीलंकामा कोरोनाभाइरसबाट २८ हजार ५८० जना संक्रमित हुँदा १४० जनाको मात्रै मृत्यु भएको छ  ।

समयमै उपचार सेवा दिन पछि पर्‍यो नेपाल

नेपालमा मे १६, २०२० मा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको थियो । संक्रमण बढ्दै जाँदा केही संक्रमितले क्वारेन्टिनमै त केहीले अस्पताल भर्ना हुन नपाउँदै ज्यान गुमाए ।  सरकारले सरकारी तथा निजी सबै अस्पतालले कोरोना संक्रमितको उपचार अनिवार्य गनुपर्ने व्यवस्था गरे पनि निजी अस्पतालहरुले पर्याप्त सहयोग गरेको देखिएन ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बिसी भन्छन्, “नेपालमा अहिले भएका संक्रमितको संख्या र अस्पतालहरुको तथ्यांक हेर्दा उपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था होइन । तर, संक्रमितको उपचारको सवालमा न निजी क्षेत्रले सरकारलाई पर्याप्त सहयोग गरे, न सरकारले सबै क्षेत्रलाई आफ्ना कार्यक्रमबारे बुझाउन नै सक्यो । अखिर समन्वयको अभावमा निर्दोष जनताले ज्यान गुमाउन पुगे ।”

किन बढ्यो कोरोनाले मृत्यु हुनेको संख्या ? 

पछिल्लो दुई महिनाको तथ्यांकलाई हेर्दा कोरोनाका कारण दैनिक सरदर १६ जनाले ज्यान गुमाइरहेको देखिन्छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय रोग छिप्पिएपछि बिरामी अस्पताल आइपुग्ने गरेका छन् ।  अहिले अधिकांश बिरामीहरु आइसीयूमा भर्ना हुने अवस्थामा आइपुग्छन् । त्यसमा पनि ७० वर्षभन्दा माथिका दीर्घरोगी संक्रमित भए बचाउन निकै कठिन हुन्छ ।

कोरोनाका बिरामीप्रति हुने सामाजिक लाञ्छनाका कारण होम आइसोलेसनमा बस्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने हुँदा मृत्युको दर पनि बढेको डा. बास्तोलाको ठहर छ । एकै परिवारका आठजनामा संक्रमणको लक्षण थियो । नजिकैका दुईवटा निजी अस्पतालले परीक्षण गर्न मानेनन् । टेकु पुग्दा घण्टौँ लामो लाइन बस्नुपर्ने देखेपछि परीक्षणका लागि नगएको बरु घरमै २० दिनको आइसोलेसनपछि निको भएको अनुभव सुनाउँछन्, कौशलटारका स्थानीय शारदाप्रसाद रिजाल । 

यो घटनाले डा. बास्तोलाको भनाइलाई पुष्टिमात्रै गर्दैन, कमजोर स्वास्थ्य सेवा प्रणालीकै कारण नेपालले धेरै कोरोना संक्रमित गुमाइरहेको हो कि भन्ने पनि देखिन्छ ।
 

Leave a Reply