फिल्म छायांकन खुल्ला भएको घोषणा

गत वर्षको चैत पहिलो साताबाट कोरोनाको संक्रमणबाट बच्न देश लकडाउन भएपछि फिल्म निर्माण, प्रदर्शन र वितरण पूर्ण रुपमा ठप्प भयो । दोस्रो पटकको बन्दाबन्दीपछि सरकारले भीडभाड हुने विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, फिल्म क्षेत्रमाथिको प्रतिबन्ध कायमै छ । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीहरु पलायन हुने अवस्थामा पुगेका छन् । दशैंदेखि निर्माता-निर्देशकले सरकारको निर्णय अवज्ञा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन गरिरहेका छन् । सरकारले फिल्म छायांकनमा अवरोध नगरे पनि निर्मातालाई फिल्म छायांकनका लागि स्थानीय निकायको स्वीकृति लिनुपर्ने अवस्था छ । यो झन्झटका कारण प्रायः निर्माता-निर्देशकहरु सरकारले फिल्म छायांकन खुल्ला गरेको निर्णयको प्रतिक्षामा छन् ।  यसबीच, सरकारले आउँदो पत्रकार सम्मेलनमा फिल्म छायांकन खुल्ला भएको घोषणा गर्ने भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फ कार्यसमिति सदस्य आकाश अधिकारीले उपप्रधान मन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेल र सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङसँगको भेटपछि यसबारेमा जानकारी दिएका हुन् ।  दुई मन्त्रीसँगको भेटका तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सिनेमा घर भने सरोकारवाला संघ-संस्थासँग छलफल गरेर खोल्ने जानकारी प्राप्त भएको बताएका छन् । १० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गर्ने पनि उपप्रधान र सञ्चार मन्त्रीले आश्वासन दिएको उनले उल्लेख गरेका छन् । उक्त भेटमा अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए ।

Leave a Reply